आयोगले रवि लामिछानेसँग लियो बयान, सोध्यो १९ प्रश्न



rabi lamichhane

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग विस्तृत बयान लिएको छ।

बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा करिब पाँच घण्टा लामो सोधपुछपछि उनलाई पुनः ललितपुरको नख्खु कारागारमा फिर्ता पठाइएको स्रोतले जनाएको छ। आयोगका सदस्यहरूले रविलाई सोधपुछका लागि १९ बुँदे प्रश्नसूची तयार पारेका थिए। दिउँसो करिब २ बजेदेखि सुरू भएको बयान साँझ ८ बजेतिर सकिएको थियो।

सोधपुछको केन्द्रविन्दु भदौ २४ गते नख्खु कारागारमा भएको घटना र त्यसपछि रवि कसरी बाहिर निस्किए भन्ने विषयमा रहेको स्रोतले बतायो।

बयानका लागि उनलाई बुधबार दिउँसो पौने २ बजेतिर आयोगको कार्यालयमा लगिएको थियो।

यसअघि मंगलबार आयोगका अध्यक्ष गौरीबहादुर कार्की नख्खु कारागार पुगेर घटनास्थलको स्थलगत अध्ययन गरेका थिए। आयोगले त्यसअघि कारागार प्रमुख सत्यराज जोशी, सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसँग पनि सोधपुछ गरिसकेको छ।

भदौ २४ गते नख्खु कारागारबाट सबै कैदीबन्दी बाहिर निस्किएका थिए र सोही दिन देशका अन्य कारागारहरूबाट समेत कैदीबन्दी भागेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार