काठमाडौं । नेपाली वामपन्थी राजनीति फेरि एकपटक ठूलो मोडमा पुगेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वटा दल र समूहबीच एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
मंगलबार बसेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकले नयाँ एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव पारित गरेको छ।
माओवादी नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’का अनुसार, प्रस्तावित पार्टीको चुनाव चिन्ह ‘तारा’ हुने सहमति भएको छ। उनले भने, “हामीले पार्टीको नाम र चिन्ह दुवै तय गरेका छौँ। अब अन्य दलहरूसँगको छलफलपछि औपचारिक घोषणा हुनेछ।”
बैठकले पारित गरेको नाम र चिन्हबारे अन्य एकतामा सहभागी दलहरूसँग थप परामर्शपछि औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो पहल २०७५ सालमा बनेको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को विघटनपछि विखण्डित बनेको वाम शक्तिलाई फेरि एकतामा ल्याउने ऐतिहासिक प्रयास हो।
यसअघि माओवादी केन्द्र र समाजवादीबीच पार्टी एकताको सम्भावनाबारे लगातार संवाद भइरहेको थियो। अब नौ वामपन्थी दल एउटै संरचनामा जाने तयारीसँगै वाम राजनीति पुनःस्थापनाको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।





