काठमाडौँ । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्या समाधानका लागि दैनिक एक हजार जनासम्मका लागि अपोइन्टमेन्ट स्लट खोल्ने निर्णय गरेको छ। विभागका अनुसार नयाँ व्यवस्था नहुँदासम्म कार्तिक १७ गतेदेखि हरेक दिन साँझ ५ बजे (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) स्लट खुल्नेछ।
विभागले हाल विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणाली निर्माण कार्य अघि बढाइरहेको जनाएको छ। पुराना तथा नयाँ आपूर्तिकर्ताबीचको ह्याण्डओभर–टेकओभर प्रक्रियाका कारण केही समयदेखि राहदानी वितरणमा समस्या देखिएको जनाएको छ।
सेवाग्राहीको बढ्दो माग र राहदानी पुस्तिकाको सीमितताका कारण तत्कालका लागि यस्तो व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ। साथै अत्यावश्यक कारण भएकामात्रले राहदानीका लागि आवेदन दिन आग्रह गर्दै धैर्य र सहयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार





