काठमाडौं । नेपालमा हाल सक्रिय पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसको प्रभावले आज पनि देशका केही पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको अनुमान छ।
विभागका अनुसार देशका धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने र केही स्थानमा वर्षा हुने सम्भावना छ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातका कारण देशका विभिन्न भागमा वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो। हिमाली क्षेत्रमा वर्षासँगै भएको हिमपातका कारण मनाङको तिलिचो आधार शिविरमा १३ जना पर्यटक फसेका थिए। सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम केन्द्र, मनाङले ती पर्यटकलाई सुरक्षित उद्धार गरेको थियो।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमध्ये १८५ केन्द्रमा उल्लेख्य वर्षा मापन भएको छ।
त्यसमध्ये लमजुङको बेँसीशहरमा सबैभन्दा बढी ७१.१ मिलिमिटर वर्षा भएको थियो। चार मापन केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ।





