पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव यथावत, देशभर वर्षाको सम्भावना



काठमाडौं । देशका विभिन्न भू–भागमा पश्चिमी वायुको सक्रियता र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव कायम रहँदा आज पनि ठाउँ–ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको प्रभाव तीव्र छ। साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र ‘मोन्था’ चक्रवातको प्रभावका कारण मौसम धेरै स्थानमा बदली बनेको हो। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा दिउँसो धेरै समय बादल लाग्नेछ। तराई भू–भागमा सामान्य बदली रहने पूर्वानुमान छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना राखिएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण तथा ती क्षेत्रमा खेतीपाती गर्ने किसानलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार