आज दक्षिण कोरियामा ट्रम्म र सी भेट्दै, व्यापार युद्ध अन्त्य हुने विश्वास



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियाको बुसानमा भेटवार्ता हुँदैछ। दुई देशबीच चर्किएको व्यापार युद्धका बीच हुने यो भेटलाई अत्यन्त महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे दुवै नेताबीच औपचारिक बैठक निर्धारित गरिएको छ। चिनियाँ विदेश मन्त्रालयले पनि भेट समय र स्थान पुष्टि गरेको छ।

द्विपक्षीय विषयमा केन्द्रित छलफल

दुवै नेताबीचको वार्तामा

  • द्विपक्षीय सम्बन्ध

  • आपसी हितका मुद्दा

  • व्यापार सन्तुलन
    मुख्य एजेन्डा रहनेछ।

यसअघि मलेसियामा दुबै देशका उच्च अधिकारीबीच भएको कुराकानीले सम्भावित व्यापार सम्झौताका लागि आधार तयार गरेको बताइएको छ।

एपेक शिखर सम्मेलनअघि भेट

ट्रम्प र सी दुवैले दक्षिण कोरियाको ग्यांग्झूमा हुने एशिया–प्यासेफिक इकोनोमिक कोअपरेशन (APEC) शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ। सोही सम्मेलनमा सहभागी हुनुअघि उनीहरूबीच भेटवार्ता तय भएको हो।

कृषि व्यापार मुख्य एजेन्डा

वार्तामा अमेरिकी किसानले उत्पादन गरेका सोयाबिन तथा अन्य कृषि उपज खरिद, व्यापार सन्तुलनका विषयमा प्रमुख छलफल हुने बताइएको छ। यसअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको र यसलाई यस वर्षको पहिलो ठूलो खरिद मानिएको बताइएको छ।

व्यापारिक शुल्कको विवादकै बीच चीनले अमेरिकी कृषि उपज खरिद घटाएपछि अमेरिकी किसानलाई अर्बौँ डलर बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

व्यापार युद्ध अन्त्यतर्फ?

विश्वकै दुई ठूलो अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अन्त्य गर्न यो भेटवार्ताले मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ। सफल सहमतिले वैश्विक व्यापार बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार