काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको निलम्बन फुकुवा भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बनलाई निरन्तरता दिनुपर्ने ठोस आधार नदेखिएको भन्दै पाण्डेलाई पुनः काममा फर्किन अनुमति दिएका हुन्।
यसअघि गुरागाईंले कार्यालय प्रवेशमा अवरोध पुर्याएको आरोप लगाउँदै पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। सो निर्णयविरुद्ध पाण्डे पाटन उच्च अदालत पुगेका थिए। अदालतले अन्तिम टुंगो नलागेसम्म निलम्बन नगर्न र पाण्डेलाई वर्तमान पदमै कायम राख्न आदेश दिएको थियो। त्यसअनुसार असोज २८ गते निलम्बन फुकुवा गरिएको जानकारी छ।
जाँचबुझ समितिको प्रतिवेदनमा निलम्बनलाई निरन्तरता दिनुपर्ने आधार नदेखिएपछि थप कारबाही नहुने उल्लेख छ।
यसैबीच, निलम्बनविरुद्ध पाण्डेलाई अदालतबाट प्राप्त अन्तरिम आदेश कार्यान्वयन भएकाले उनले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। रिट खारेज गर्ने फैसला न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले सुनाएको हो।





