काठमाडौँ । मलेसियाले नेपालसहित पाँच स्रोत देशहरूबाट श्रमिक पठाउने म्यानपावर कम्पनीका लागि १० बुँदे नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ। अब ती मापदण्ड पूरा नगर्ने म्यानपावर कम्पनीबाट श्रमिक लिने अनुमति दिइने छैन।
मलेसियाले अदक्ष श्रमिक आपूर्ति गर्दै आएका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र म्यानमार सरकारलाई सोमबार एउटै ब्योहोरा पत्र पठाउँदै आगामी कात्तिक २९ गते (नोभेम्बर १५) भित्र तोकिएका मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूको सूची पठाउन अनुरोध गरेको हो।
मलेसियाको परराष्ट्र मन्त्रालयले उक्त पत्र क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाएको हो। पत्रमा भनिएको छ“मलेसिया सरकार नेपालबाट मलेसियामा श्रमिक भर्ना र तैनाथी गराउने निजी म्यानपावर कम्पनीहरूको सङ्ख्यालाई तर्कसङ्गत बनाउन सहमत भएको छ। यो नीतिले दुवै देशबीच रचनात्मक र मर्यादित श्रम आप्रवासनलाई सुदृढ बनाउन सहयोग पुर्याउनेछ।”
मलेसियाले तोकेको मापदण्डहरू:
- कम्पनीले इजाजतपत्र लिएको कम्तीमा ५ वर्ष भइसकेको हुनुपर्छ।
- पछिल्ला ५ वर्षभित्र कम्तीमा ३,००० श्रमिक पठाएको हुनुपर्छ।
- कम्तीमा ३ देशमा श्रमिक पठाएको अनुभव हुनुपर्छ।
- १०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको कार्यालय हुनुपर्छ।
- सञ्चालक/मालिकको असल चरित्रको प्रमाणपत्र भएको हुनुपर्छ।
- बाध्यकारी श्रम वा मानव तस्करीमा संलग्न नभएको हुनुपर्छ।
- श्रम कानुन उल्लङ्घन, मुद्रा अपचलन वा आर्थिक अपराधमा संलग्न नभएको हुनुपर्छ।
- आवश्यक प्राविधिक र प्रशासनिक संरचना भएको हुनुपर्छ।
- श्रमिक अभिमुखीकरण र अभिलेखीकरण प्रणाली अद्यावधिक भएको हुनुपर्छ।
- मलेसिया सरकारद्वारा तोकिएको नीति र मापदण्डअनुसार नियमित अनुगमन सहजीकरण गर्न सक्षम हुनुपर्छ।
नेपालले यी मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूको सूची पठाएपछि मलेसियाको मानव संसाधन मन्त्रालयले समीक्षा गरी अन्तिम छनोट गर्नेछ। हाल मलेसियाले दुई वर्षदेखि नेपालसहितका देशहरूबाट सीमित मात्रामा श्रमिक लिँदै आएको छ। विशेषगरी उत्पादन क्षेत्रका लागि भने श्रमिक भर्ना दुई वर्षदेखि रोकिएको छ।
गत वर्षको कार्तिक १२ गते मलेसिया–नेपालबीचको श्रम सम्झौता नवीकरण भए पनि त्यसपछिको कार्यान्वयन ढिलो भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार, मलेसियाको आधिकारिक पत्र अहिलेसम्म प्राप्त भइसकेको छैन। मन्त्रालयका एक अधिकारीले भने,“हामीले आधिकारिक पत्र पाएका छैनौं। पत्र आएपछि नेपाल सरकारको धारणा स्पष्ट हुनेछ।”





