अमनप्रताप अधिकारीको स्पष्टीकरणः ‘निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’



काठमाडौं । जेन–जी आन्दोलनका क्रममा संसद भवनभित्र पसेर अपशब्द प्रयोग गरेको विषयमा पूर्वफुटबल खेलाडी, कमेन्टेटर र निर्देशक अमनप्रताप अधिकारीले स्पष्टीकरण दिएका छन्।

भाडाको संसद भवन जल्दै गर्दा उत्साहित भएर बोलेका शब्दका कारण विवादमा तानिएपछि उनले भिडियोमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

अधिकारीका अनुसार संसद भवनअगाडि गोली चल्दा आफ्नै आँखाअगाडि स्कुल पोशाकमा रहेका चार विद्यार्थी ढलेका थिए र ती विद्यार्थीहरू शहीद भएका दृश्यले आफू गहिरो आक्रोशमा पुगेको बेला उक्त शब्द बोलेको हो। उनले ती घटनाप्रति माफी माग्दै भनेका छन्, “२४ भदौमा ती विद्यार्थीहरूको झल्को मुटुमा बोकेर र आक्रोश लिएर फेरि संसद भवन पुगेको थिएँ।”

उनले थपे, “त्यो आक्रोश किन थियो भने, संसद भवनभित्रबाटै गोली चलाइएको थियो, र मेरा छोराछोरी जस्ता विद्यार्थीहरू त्यहीँ ढलेका थिए। त्यसैले मैले ‘तेरो देश सकियो’ भनेको हुँ — निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हो।”

अधिकारीले उक्त अभिव्यक्ति केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार, संसद, देउवा र प्रचण्डलगायत सम्पूर्ण राजनीतिक नेतृत्वप्रति रहेको आक्रोशबाट आएको बताएका छन्। “जिनविरुद्ध मैले बोलेको हुँ, ती नेताहरूले नै देशमा अत्याचार र असमानता फैलाएका थिए,” उनले स्पष्ट पारेका छन्।

साथै उनले संसद भवन, सिंहदरबार वा न्यायालयमा भएको आगलागीमा आफू कुनै पनि रूपमा संलग्न नरहेको दाबी गर्दै भनेका छन्, “यदि मेरो संलग्नता प्रमाणित भयो भने म तुरुन्तै जेल जान तयार छु।”

उनले अन्त्यमा भनेका छन्, “म मेरो अभिव्यक्ति र आवाजप्रति अडिग छु, तर कुनै निर्दोषमाथि अन्याय नहोस् भन्ने चाहन्छु।”

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार