काठमाडौँ । जेनजी युवाको आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुने भएका छन्। उनी दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।
बैठकका लागि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापतिहरूलाई उपस्थित हुन आह्वान गरिएको छ। त्यसअघि बिहान ११ बजे कार्यसम्पादन समिति बसेर कार्यसूची टुंगो लगाइनेछ।
बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमण र आगजनी घटनापछि उपचाररत देउवा आफन्तको निवासमा बस्दै आएका थिए। उक्त घटनापछि उनी पहिलोपटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्।
आजको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका र साझा एजेन्डा तय गर्ने विषय मुख्य एजेन्डा रहने पार्टी स्रोतले जनाएको छ। मंसिरभित्र १५औँ महाधिवेशनको मिति तोक्नुपर्ने माग राख्दै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति नजुटेकाले कार्यसूचीमा विवाद कायम छ।





