काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा टासी ल्हाजोमको नाम मन्त्रीका रूपमा चर्चामा आएपछि उनी विवादमा तानिएकी छन्। सोमबारसम्म महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइने चर्चा चलेपछि जेनजी आन्दोलनसँग जोडिएका युवाहरूले उनी उपयुक्त उम्मेदवार नभएको दाबी गर्दै सार्वजनिक आपत्ति जनाएका छन्।
जेनजीकी कर्णाली संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विषयमै प्रश्न उठेको र जेनजी आन्दोलनमा उनको कुनै भूमिका नरहेको आरोप लगाएकी छन्। साथै, उनी ‘फ्री तिब्बत’ अभियानसँग जोडिएको आशंका व्यक्त गर्दै त्यसबारे छानबिन गर्न माग गरिएको छ।
जेनजी समूहले कर्णालीको प्रतिनिधित्व गराउन भन्दै स्थानीय जेनजीहरूबीच छलफल नगरी नाम टासीमा टुङ्ग्याइनु प्रदेशविरुद्धको व्यवहार भएको टिप्पणीसमेत गरेको छ। उनका अनुसार कर्णालीका सम्भावित नामहरूको सूचीमा टासीको नाम समावेश नै गरिएको थिएन।
यसैबीच, पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी नेपाली नागरिक नै नभएको दाबी गर्दै अमेरिकन दूतावासको प्रभावमा उनको नाम अघि सारिएको आरोप लगाएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले टासीबारे थप छलफल गरेर मात्र टुंगोमा पुग्ने बताएकी छन्।






