गोदावरीको ‘हिट एण्ड रन’मा कोशीका आर्थिक मामिलामन्त्री माथि अनुसन्धान गर्न निर्देशन



काठमाडौं । ललितपुरको हरिसिद्धिमा जेब्रा क्रसिङमै बालिकालाई ठक्कर दिएर फरार भएको ‘हिट एण्ड रन’ घटनामा संलग्न पक्षलाई मिलापत्रमार्फत उन्मुक्ति दिइएको थाहा पाएपछि गृहमन्त्रालयले चासो जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई घटनाको पुनः वस्तुगत अनुसन्धान गर्न निर्देशन दिएका छन्।

२१ भदौमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बाटो काटिरहेकी बालिकालाई ठक्कर दिएर उद्धार नगरी सवारी भागेको दृश्य सार्वजनिक भएको थियो। त्यसपछि मन्त्री पक्षले उपचार खर्च बेहोर्ने सहमति गर्दै कागज बनाएपछि प्रहरीले मिलापत्रको आधारमा कारबाही अघि नबढाएको आरोप लागेको छ।

गृह मन्त्रालयले ‘हिट एण्ड रन जस्तो गम्भीर घटनामा केवल उपचारको सहमति भएर कानूनी कारबाही टुंगिनु मिल्दैन’ भन्दै कोही पनि पद वा शक्तिको आधारमा उन्मुक्ति नपाउने स्पष्ट चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार