तीन दिन काठमाडौं उपत्यकामा सवारी साधन भित्रन र बाहिरिन नपाउने



काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका भित्रने र बाहिरिने सवारी साधन तीन दिनका लागि रोक लगाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्ति अनुसार असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रने/बाहिरिने सबै लामो दूरीका सवारीसाधन चल्न नपाउने छन्।

भारी वर्षा, बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले यस्तो निर्णय गरिएको हो। जल तथा मौसम विज्ञान विभागले २० गतेसम्म मध्यमदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेको छ।

प्राधिकरणले यातायात व्यवसायी र सर्वसाधारणलाई अत्यावश्यकबाहेक सवारी नगर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारी आवतजावत नियन्त्रणमा राख्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार