काठमाडौं । आज दशैंको मुख्य दिनमा गुरुपुरोहित र मान्यजनको हातबाट टीका–जमरा थापिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ भन्ने परम्परा छ ।
समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार दक्षिण फर्केर टीका लगाउन नहुने, किनकि दक्षिण दिशा पितृकर्मका लागि मानिन्छ । कतिपयले चन्द्रमा हेरेर दिशा तोक्ने चलन भए पनि सामान्यतया पूर्व–पश्चिम नै मान्य रहेको बताइएको छ ।
यस वर्ष देवी विसर्जनको साइत बिहान ९:२३ मा र टीकाको उत्तम साइत ११:५३ मा तोकिएको छ । तर टाढा जानुपर्नेहरुले झुल्के घाममै विसर्जन गरेर टीका लगाउन सक्ने व्यवस्था छ, किनकि टीका–जमरा देवीदुर्गाको प्रसाद भएकाले साइत नहेरी पनि ग्रहण गर्न सकिन्छ ।
प्रकाशित मिति : २०८२ असोज १६ गते बिहिवार





