काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरेर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११:५३ बजे रहेको छ ।
टीका लगाउनेले पूर्व र लगाइदिनेले पश्चिम फर्कनुपर्ने परम्परा छ । देवी विसर्जनको साइत बिहान ९:२३ मा तोकिएको छ । समितिका सदस्यहरूका अनुसार दशैंको टीका देवीको प्रसाद भएकाले सामान्य मानिसले साइत नहेरी पनि ग्रहण गर्न सक्ने परम्परा छ, तर राज्य सञ्चालकले भने उत्तम साइतमै ग्रहण गर्नुपर्ने मानिन्छ ।
नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि टीका–जमरा लगाउन सक्नेछन् । महालक्ष्मी पूजासहित कोजाग्रत पूर्णिमामा दशैं पर्व समापन हुन्छ ।
प्रकाशित मिति : २०८२ असोज १६ गते बिहिवार





