ज्ञानेन्द्रले १७ वर्षपछि पूर्वराजाको हैसियत स्वीकारे



काठमाडौं । दशैंका अवसरमा जारी गरिएको एक विज्ञप्तिले पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहारमा ऐतिहासिक मोड देखाएको छ। सधैं आफ्ना वक्तव्यमा आफूलाई ‘राजा’ को हैसियतमै प्रस्तुत गर्दै आएका शाहले यसपटक भने ‘पूर्व श्री ५ महाराजाधिराज’ भनेर सम्बोधन गर्दै पूर्वराजाको पहिचान स्वीकार गरेका छन्।

२०६५ जेठ १५ गते राजतन्त्र अन्त्य भई नारायणहिटी दरबारबाट बाहिरिनु परेको शाहले त्यसपछि पनि प्रायः ‘प्यारा देशवासीहरू’ भनेर सम्बोधन गर्दै आफूलाई अलग देखाउने गर्थे। तर, यसपटक उनले ‘प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ’ भनेका छन्, जुन सम्बोधन सामान्य नागरिकसँग नजिकिएको संकेत मानिएको छ।

शाहको विज्ञप्ति यसअघि जस्तो ‘राजनीतिक कटाक्ष’ वा ‘दलप्रति असन्तोष’ नभई सांकेतिक र सांस्कृतिक पक्षमा केन्द्रित थियो। उनले दशैंलाई ‘चरम विध्वंश र शोकबीच पारिवारिक तथा सांस्कृतिक रूपमा मात्र मनाउनुपर्ने’ उल्लेख गरेका छन्।

यसपटकको शुभकामना सन्देश ‘निर्मल निवास, महाराजगञ्ज’ नामबाट जारी भएको छ। विगतमा प्रयोग हुने राष्ट्रिय झण्डा वा राजकीय प्रतीक चिन्ह यसमा राखिएको छैन।

राजतन्त्रको पुनर्स्थापनाको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने शाहको भाषालाई लिएर अनावश्यक अर्थ नलगाउन आग्रह गरेका छन्।
‘कहिलेकाहीँ शब्द तलमाथि हुन सक्छन्। शुभकामनालाई शुभकामना नै मान्नुपर्छ,’ लिङ्देनले प्रतिक्रिया दिएका छन्। तर, उनले पछिल्ला समय शाहबारे भइरहेका प्रश्नका कारण विवादमा नपर्ने हेतुले यस्तो भाषा प्रयोग भएको हुनसक्ने अनुमान पनि गरेका छन्।

विज्ञप्तिमा शाहले भूराजनीतिक चुनौतीबीच अखण्ड नेपाल निर्माणको आवश्यकता औंल्याउँदै नयाँ पुस्ताको अभिलाषालाई राज्य व्यवस्थाले आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।

विश्लेषकहरूका अनुसार १७ वर्षपछि आएको यो भाषिक परिवर्तन शाहले अन्ततः पूर्वराजाको हैसियत स्वीकार गरेको संकेतका रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार