‘युवाहरु हावाको पछि नकुदौँ, बादल लागेपनि एकदिन हट्छ’: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई कर्मठ, इमानदार र क्लिन बन्न आग्रह गरेका छन्। मंगलबार बिहान गुण्डुमा कार्यकर्तासँगको भेटवार्तामा उनले देश बनाउन चाहने युवाहरूले हावामा कुद्ने होइन, आफ्नो जिम्मेवारी बुझ्नुपर्ने बताए।

ओलीका अनुसार पढाइ, कर्तव्य र समाजप्रतिको दायित्वलाई बेवास्ता गरेर अघि बढ्दा लक्ष्य प्राप्ति सम्भव हुँदैन। उनले भने,
‘देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा कुद्ने होइन। आफ्नो र देशप्रतिको कर्तव्य बिर्सन हुँदैन। जहाँपनि हामीले इमानदार हुन सिक्नुपर्छ, क्लिन हुनुपर्छ, नलेज बढाउने, क्यारेक्टर डेभलप गर्नुपर्छ।’

सामाजिक सञ्जालको प्रयोगमा पनि सचेत हुनुपर्ने भन्दै उनले डिजिटल प्लेटफर्म सदुपयोग गरिनुपर्नेमा जोड दिए।

हालैको जेनजी प्रदर्शनपछि नेपाल बदनाम अवस्थामा पुगेको उल्लेख गर्दै ओलीले जिम्मेवार र सभ्य ढंगले मुलुकलाई उठाउनुपर्ने बताए। उनले भने,
‘नेपाल एउटा बदनाम अवस्थामा पुगेको छ। तर हामीले भन्न सक्नुपर्छ, नेपाल इमानदार अवस्थामा छ भनेर। यो जिम्मेवारी सभ्य र जिममेवार मानिसहरूको काँधमा आएको छ।’

उनले प्रदर्शन योजनाबद्ध भएको दाबी गर्दै भने,
‘उनीहरूको योजनाबद्ध तयारी देखिन्छ। तर बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन। साँझ पर्‍यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विचार गर्नुपर्छ।’

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार