भैँसेपाटी प्रहरी प्रभाग पुनर्स्थापना



ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयवासीको सक्रिय पहलमा पुनः सञ्चालनमा आएको छ। ‘जेन–जी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्रदर्शनकारीले आगजनी गर्दा सम्पूर्ण सामग्रीसहित भवन ध्वस्त भएको थियो।

प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मा नेतृत्वको टोली अत्यावश्यक सामग्रीसहित हिजो अबेर पुनः प्रभागमा प्रवेश गरेको हो। आन्दोलनकारीले गस्तीका दुई वटा चारपाङ्ग्रे गाडी, केही मोटरसाइकल र कार्यालयका सम्पूर्ण सामान जलाइदिएका थिए।

प्रभागमा हाजिर हुन आएका प्रहरी टोलीलाई वडा नम्बर २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नम्बर २२ का अध्यक्ष सागर तुलाधर, वडा नम्बर २१ का अध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयवासीले स्वागत गरेका थिए।

सोही अवसरमा स्थानीय सुमन महतको संयोजकत्वमा ११ सदस्यीय पुनर्निर्माण समिति गठन गरिएको छ। समितिले श्रमदान, चन्दा र विभिन्न सङ्घ–संस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार