शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बोल्ड निर्णय लिने संकेत



काठमाडौं । नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन्। स्रोतका अनुसार उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको छ र बाह्य सम्पर्क काटिएको छ। दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको अन्य दलका नेताहरूले बताएका छन्।

जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधि बढेपछि सेनाले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूलाई “सुरक्षाका लागि नियन्त्रणमा” राखेको बताइएको छ।

सैनिक स्रोतका अनुसार कार्यकर्तासँग सीधा सम्पर्क टुटाउन नेताहरूलाई नियन्त्रणमा राखिएको हो। यसैबीच पाँचखालस्थित संयुक्त राष्ट्रसंघ तालिम केन्द्र (युनिफिल्ड) का टोलीसहित काठमाडौं उपत्यकामा सैनिक संख्यामा वृद्धि गरिएको छ।

आज साँझदेखि उपत्यकामा व्यक्तिमाथि सुरक्षा जाँच कडाइ गरिएको छ भने रातिको कर्फ्यू थप कडा पार्न आदेश दिइएको छ। अत्यावश्यक सेवाको नाममा हुने अनुचित आवतजावत रोक्न विशेष सतर्कता अपनाइएको सेनाले जनाएको छ।

देशको संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै प्रधानसेनापतिले निकट भविष्यका सबै कार्यक्रम रद्द गरेका छन्, जसमा चीन भ्रमणसमेत रहेको सैनिक मुख्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार