शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन, अवस्था सामान्य बन्दै



काठमाडौं । हिजो दिनभरि र रातिसम्म देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनापछि शान्ति–सुरक्षा कायम गर्न नेपाली सेना देशभर परिचालन गरिएको छ । राति १० बजेदेखि सेनाको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् ।

सेनाले विज्ञप्ति जारी गर्दै नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न सेना परिचालन गरिएको जनाएको छ । सेनाको उपस्थिति बढेपछि अधिकांश स्थानमा अवस्था सामान्य बन्दै गएको बताइएको छ । संवेदनशील क्षेत्र र सडकमा सेना सुरक्षा दिइरहेको छ भने तोडफोड र लुटपाटमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको छ ।

काठमाडौंको बानेश्वरमा राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ परेका छन् । सेना तथा अन्य सुरक्षाबलले अराजक गतिविधि नगर्न चेतावनी दिँदै आपराधिक घटना देखिएमा तुरुन्तै खबर गर्न आग्रह गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अप्रत्याशित घटनाप्रति दुःख व्यक्त गरेका छन् र शान्ति पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय एकता र सार्वभौमिकताको सुरक्षामा सेना सधैं प्रतिबद्ध रहेको स्मरण गराएका छन् । साथै उहाँले थप क्षति हुन नदिन सबैलाई संयमित रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार