जेनजीसँग डरायो सरकारः ललितपुरको भैंसेपाटी, च्यासल र सानेपामा राति १२ बजेसम्म कर्फ्यु



ललितपुरका केही ठाउँमा आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु लागेको छ भने काठमाण्डौका विभिन्न ठाउँमा हिजोदेखि लागेको कर्फ्यु हटेको छ । ललितपुर प्रशासनले मन्त्री निवास रहेको भैंसेपाटी क्षेत्र, एमाले पार्टी कार्यालय रहेको च्यासल क्षेत्र र काङ्ग्रेस पार्टी कार्यालय रहेको सानेपा क्षेत्रमा बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

ललितपुरको वडा नम्बर ४, १८ र २५ का क्षेत्रहरु भैंसेपाटीबाट बुङ्गमती जाने सडक, सिजी हाउजिङबाट चोभार गल्छी सडक, एकान्तकुनाबाट विष्णुदेवी मन्दिर र इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

यसैगरी वडा नम्बर २ सानेपाको इन्द्रायणी मार्ग वरपरपरको ठाउँहरु, सानेपा चोकदेखि इन्द्रायणी सडक, बल्खु पुलदेखि मनमोहनपार्क र इन्द्रायणी मन्दिरबाट बागमती करिडोरसम्म पनि कर्फ्यु जारी भएको छ । वडा नम्बर ९ को च्यासल क्षेत्रमा च्यासल रङ्गशाला मलपोखरी जाने बाटो र मनोहरा खोला जाने बाटोमा पनि कर्फ्यु लगाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार