जेनजी आन्दोलनः “ट्रमा सेन्टरमा युद्धको झल्को”



काठमाडौं । सोमबारको बानेश्वर क्षेत्रमा भएको गोलीकाण्डपछि त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टर युद्धभूमिकै दृश्य जस्तै देखिएको चिकित्सकहरूले बताएका छन्।

पौने २ बजेदेखि निरन्तर गोली लागेका घाइतेहरू एम्बुलेन्स र निजी सवारीसाधनमार्फत ट्रमा ल्याइँदै गर्दा आपत्कालीन कक्ष भरियो। भीड यति ठूलो थियो कि भुईँमै राखेर उपचार गर्नुपरेको चिकित्सकहरूले बताए।

ओपीडीमा रहेका डाक्टरहरू समेत आपत्कालीन कक्षमा खटिए भने वीर अस्पतालका न्युरो र अन्य विशेषज्ञ टोली पनि सहयोगका लागि पुगे। “५० जनाभन्दा बढी चिकित्सकलाई एकैपटक खटाइयो, तर चार जनालाई सीपीआर गरेर पनि बचाउन सकिएन,” स्नायु–नसा विशेषज्ञ डा. राजीव झाले भावुक हुँदै भने।

ट्रमा सेन्टरमा पुग्ने घाइतेहरू प्रायः स्कुल–कलेजको ड्रेस र ब्यागसहित थिए। धेरैजसो १०–१२ कक्षामा अध्ययनरत किशोर–किशोरी। “भर्खरका स्कुल–कलेज पढ्नेहरू भुईँमा कराउँदै थिए। आँखा रसाउने गरी विपद्मा काम गर्नुपर्‍यो,” डा. झाले भने।

डेढ घण्टामै अस्पतालको ब्लड बैंक सकियो। स्वास्थ्यकर्मीहरूले आफैं रगतदान गरेर घाइतेलाई बचाउने प्रयास गरे। “१५ जना जति चिकित्सक–स्वास्थ्यकर्मीले तत्काल रगत डोनेट गरेर उपचार अघि बढायौं,” डा. सन्तोष पौडेलले जानकारी दिए।

अस्पतालमा भर्ना भएका घाइतेमध्ये धेरैलाई रबरको गोली लागेको भए पनि, पछि ल्याइएका घाइतेहरूमा वास्तविक बुलेट लागेको शंका गरिएको चिकित्सकहरूले बताएका छन्। केही घाइतेको शरीरभित्रै गोली रहेको र न्युरो–सर्जन टोलीले निकाल्ने प्रयास गरिरहेको छ।

राति ८ बजे अस्पतालको गेट बाहिर मृतक र घाइतेको सूची टाँसिएको थियो। आफन्तहरू गेटमा सूचना लिन पुगेका बेला पनि प्रहरी र प्रदर्शनकारीबीच झडप देखियो।

सोमबार बिहानैदेखि सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जीहरूले थालेको आन्दोलन दिनभर तनावग्रस्त रह्यो। यसबीच अहिलेसम्म देशभर १९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। यता सिभिल अस्पताल यसअघि नै भरिएको थियो सिभिलमा पनि ठाउँ अभाव भएर भुँईमै उपचार थालिएको छ । घाइते अधिकांश विद्यार्थी हुन् र तिनीहरुमाथि गोली बर्साइएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार