जेनजीमाथिको दमनपछि एमाले छाड्नेको लर्कोः म झोले हुँ भन्ने ग्याङ्ग बेपत्ता



रूपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले एमाले पार्टी परित्याग गरेका छन् ।

उनले आज सामाजिक संजालमा लेख्दै एमाले त्यागेको घोषणा गरेका हुन् । स्टाटस सँगै उनले पार्टी सदस्यता कार्ड समेत सार्वजनिक गरेका छन् । २०६६ चैत १८ गते संगठित सदस्यता लिएका उनले निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्न आफ्नो नैतिकताले नदिएको उल्लेख गरेका छन् ।

‘आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु । निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।` उनले थप लेखेका छन् । ´म गर्वका साथ भन्छु अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन ।’

यस्तै जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजव विश्वदर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सहसंयोजक पराजुलीले एमाले नेतृत्वको सरकारले युवासँगै सिंगो राज्य र जनताप्रति घात गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘…सरकारबाट कुनै लाभ नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ । अब देशलाई दिने विचारका साथ आजैको मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको जिम्ममेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले आफु सरकारको मतियार बनिरहन नसक्ने बताए । ‘मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवासँगै सिङ्गो राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिनँ’, उनले लेखेका छन् ।

यस्तै देशभरबाट यतिबेला एमाले, कांग्रेस र माओवादी छाड्ने अभियान नै चलेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार