जेनजी आन्दोलनः मृत्यु हुनेको संख्या १३ पुग्यो



काठमाडौं । राजधानी केन्द्रित जेनजी आन्दोलन दिनप्रतिदिन हिंसात्मक बन्दै गइरहेको छ। सुरक्षाकर्मीको बल प्रयोगका क्रममा थप मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार अधिकांश मृतकलाई रबरको गोली र नियन्त्रणका क्रममा भएको बल प्रयोगबाट गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै अस्पताल लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

यद्यपि कर्फ्यू जारी रहँदा पनि आन्दोलन थामिएको छैन। प्रदर्शनकारी र प्रहरीबीच बानेश्वर क्षेत्रमा लगातार झडप भइरहेका छन्। प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग गरिरहेको छ भने प्रदर्शनकारीले बारम्बार आगजनी र ढुंगामुढा गरिरहेका छन्।

घाइतेहरूको वास्तविक संख्या अझै स्पष्ट भएको छैन। विभिन्न अस्पतालमा ठूलो संख्यामा प्रदर्शनकारी भर्ना भइरहेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार