जेनजी आन्दोलनमा मृतकको संख्या ८ पुग्यो



काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा उग्र बनेको जेनजी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ। सोमबार दिउँसो त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा उपचाररत पाँच प्रदर्शनकारीको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको हो।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमै थप दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको थियो। आज मात्रै ट्रमा सेन्टरमा पाँचजनाको मृत्यु भएपछि कुल मृतक संख्या ८ पुगेको हो।

मृतक सबैजना प्रहरीको रबरको गोली लागेर गम्भीर घाइते भएका थिए। अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

काठमाडौंका विभिन्न क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको भए पनि आन्दोलन रोकिएको छैन। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर चोक वरपर निरन्तर झडप भइरहेका छन्।

सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरिरहेकाले क्षेत्र अत्यधिक तनावग्रस्त बनेको छ। घाइतेहरूको संख्या अझै यकिन हुन सकेको छैन।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार