काठमाडौं, ७ भदौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को आठौं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार इ.धनेन्द्र केसीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
बिहीबार प्यानलसहित उम्मेदवारी दर्ता गराएका केसीले सात बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै “निरन्तरता र थप प्रतिबद्धता” नारासहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए। उनले सातै प्रदेश र अधिकांश स्थानीय तहसम्म संगठन विस्तार गर्ने, इन्जिनियरिङ पेशासम्बन्धी नीतिगत, कानुनी र राजनीतिक विषयमा निरन्तर पैरवी गर्ने, पेशागत सम्बर्द्धनका लागि सभा–सम्मेलन, बहस, तालिम, गोष्ठी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले बैंकहरूले मूल्यांकन गरेकै आधारमा इन्जिनियरलाई कालोसूचीमा राख्ने प्रचलनको अन्त्य गर्ने र नेपाल भ्यालुयर्स एशोसिएशनले तोकेको परामर्श शुल्क तत्काल लागू गर्ने योजना पनि अघि सारेका छन्।
केसीले भने, “शुभेच्छुक संस्थाको हैसियतमा नेपाली कांग्रेसको पार्टी संगठनमा बलियो उपस्थिति र सक्रिय भूमिका स्थापित गराउनेछौं। सामूहिक र साझा नेतृत्वमा आधारित सिडेनको भूमिका स्थापित गर्न मेरो प्यानल कटिबद्ध छ।”
केसीको प्रस्तावकमा वर्तमान अध्यक्ष इ. लक्ष्मण केसी र समर्थकमा इ. सुमन थापा रहेका छन्। उनको प्यानलबाट इ. सागर समशेर शाही उपाध्यक्ष, इ. भुपेन्द्र श्रेष्ठ महासचिव, इ. सन्तोष नेपाल उपमहासचिव र इ. रस्मिता बन्जरा कोषाध्यक्षमा उम्मेदवारी दिएका छन्।
सिडेनको आठौं कार्यकारिणी समितिको निर्वाचन भदौ १४ गते (शनिबार) काठमाडौंमा हुँदैछ। अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन हुने कार्यक्रम छ। अध्यक्ष पदमा इ. रवि भूषण झा पनि उम्मेदवार बनेका छन्। उनको प्रस्तावक पूर्वअध्यक्ष इ. उमेश प्रसाद थानी र समर्थकमा इ. डा. नारायण प्रसाद अधिकारी रहेका छन्।





