दक्षिण कोरियामा आत्महत्या घटना: फर्मका मालिकलाई २ वर्ष कैद र १० लाख वन जरिवाना



सोल । दक्षिण कोरियाको यङामस्थित बङुर फर्ममा कार्यरत नेपाली श्रमिक तुल्सि पुन मगरको आत्महत्याको घटनामा अदालतले दोषीहरूलाई सजाय सुनाएको छ। प्रवासी श्रमिक युनियन (एमटियु) ले दायर गरेको मुद्दामा मोक्पो अदालतले बुधबार फैसला सुनाउँदै फर्मका मालिकलाई २ वर्ष कैद र १० लाख वन जरिवाना, साथै टोली प्रमुखलाई ८ महिना कैद सजायको निर्णय गरेको हो।

गत फेब्रुअरी महिनामा तुल्सि पुन मगरले मालिक र टोली प्रमुखको निरन्तर सतामान र कुटपिट सहन नसकी आत्महत्या गर्न बाध्य भएका थिए। लामो संघर्ष र दबाबपछि दोषी कानुनी सजायको भागीदार बनेका हुन्।

यस घटनाले दक्षिण कोरियामा कार्यरत प्रवासी श्रमिकहरूले भोगिरहेको अमानवीय व्यवहार, भेदभाव र हिंसात्मक कार्यस्थल संस्कृतिलाई पुनः उजागर गरेको छ। असुरक्षित वातावरण, कुटपिट र दुरव्यवहारका कारण श्रमिकहरूको जीवनमाथि गम्भीर असर परेको प्रवासी श्रमिक संगठनहरूको भनाइ छ।

प्रवासी श्रमिक युनियनले यस घटनापछि सबै श्रमिकलाई विभाजन नभई एकताबद्ध रहन आह्वान गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “जस–जसले यस्ता गैरकानुनी गतिविधि गर्दै हुनुहुन्छ, तुरुन्तै रोक्नुहोस्। नत्र कानुनी सजायको भागीदार बन्नुपर्नेछ।”

यस फैसलालाई प्रवासी श्रमिकहरूको सुरक्षाका लागि महत्त्वपूर्ण कदम मानिएको छ। यसले भविष्यमा यस्ता घटनाको रोकथाममा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार