पूर्वराष्ट्रपति भण्डारीको ‘चियादानी’ मा एक घण्टा



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ शंखमुलस्थित युवा अभियन्ता केपी खनालको ‘चियादानी’ क्याफेमा झण्डै एक घण्टा बसिन्। साढे ५ बजे पुगेकी भण्डारीले करिब ५० मिनेटसम्म क्याफेमा उद्यम, नयाँ पुस्ताको चासो र सरोकारबारे गफ गरिन्।

दश वर्षपछि दूध चिया पिएको बताएकी भण्डारीले माटोको कपमा चिया र पकौडाको स्वाद चाख्दै प्रशंसा गरिन्। “आज दश वर्षपछि पहिलो पटक दूध चिया पिएकी हुँ,” उनले सञ्चालक खनालसँग भनिन्। क्याफेका कर्मचारीसँग तस्वीर खिचाउन समय दिँदै उनले व्यवसाय सञ्चालनका अप्ठ्यारा र सम्भावनाबारे पनि जिज्ञासा राखिन्।

सफाइ अभियन्ता तथा काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) का निकट मानिने खनालसँगको यो भेटलाई धेरैले चासोका साथ हेरेका छन्। यसअघि बालेन स्वयं भण्डारीको निवासमै पुगेर भेटघाट गरिसकेका थिए।

कार्यक्रमको संयोजन हालै पदमुक्त भएका युवा संघका नेता सुरज खरेलले गरेका थिए। खरेलका अनुसार भण्डारी अब विभिन्न क्षेत्रमा रहेका युवा, उद्यमी र पेशागत व्यक्तिमाझ पुगेर प्रतिक्रिया लिने अभियान सुरू गर्ने योजनामा छिन्।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शुक्रवार