डा. रामेश कोइरालाको विदेश प्रस्थानप्रति रविन्द्र मिश्रको सहानुभूति



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाको विदेश प्रस्थानप्रति सहानुभूति व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै मिश्रले राजनीतिक रूपमा कहिल्यै मेल नमिले पनि कोइरालाको ‘देश पलायन’ले आफूलाई दुखी बनाएको उल्लेख गरेका छन्। उनले कोइरालासँग राजनीतिक विचार नमिलेका कारण एकअर्कालाई ट्विटरमा ब्लक गरेको प्रसंगसमेत स्मरण गरे।

मिश्रले लेखेका छन्, “हण्डर–ठक्कर सहेर, सरकारी अस्पतालमा तलब खाएर पनि विदेशमा लाखौँ कमाउने अवसर त्यागी नेपालमै सेवा दिइरहेका कोइरालाजस्तो व्यक्तित्वको प्रशंसा जति गरे पनि कम हुन्छ।”

उनका अनुसार, यस्तो अवस्था सिर्जनामा कोइरालाजस्ता विद्वानहरूको चरम राजनीतिक आग्रह पनि उत्तिकै जिम्मेवार छ। मिश्रले जहाँ रहे पनि सुखी रहोस् भन्ने शुभकामना दिंदै, “यस्तै हुने हो भने देश के होला” भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ साउन २९ गते बुधवार