काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा साउन १५ गते साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलन ‘मिलन गुरुङ’ ले आफू नेकपा (एमाले)को पार्टी सदस्य रहेको दाबी गरेका छन्। अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्षको बयानमा उनले गोरखा जिल्लाको पार्टी सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको बताएका हुन्।
बयानअनुसार, उनले पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी हुँदै संयोगात्मक रूपमा विभिन्न गतिविधिमा संलग्न भएको बताए। साथै, केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक गतिविधिमा आबद्ध रहँदै आएको जिकिर पनि गरे।
साम्बाला होटलमा आफ्नो जन्मदिन मनाउने क्रममा अन्य युवासँग भेला भएको उनको भनाइ छ। चक्रेका अनुसार, प्रहरी आएपछि सामान्य भनाभन भए पनि कुनै अभद्र व्यवहार गरिएको थिएन।
अनुसन्धान अधिकृतको प्रतिवेदनमा उल्लेख भएजस्तो धारिलो वा जोखिमयुक्त हतियार आफ्नो समूहले प्रदर्शन नगरेको दाबी गर्दै उनले भने, “हतियार देखाएर स्थानीयलाई धम्क्याउने वा गाली गलौज गर्ने कार्य मैले गरेको छैन।”





