रास्वपा महामन्त्रीमै काम गर्न पाउँ भन्दै मुकुलले दायर गरेको रिटमा सुनुवाइ जारी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकाललाई पदमा पुनः बहाल गराउन माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा ढकालको निवेदनमाथि सुनुवाइ जारी छ। ढकालले आफू रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा पुनः काम गर्न पाउनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो। त्यसभन्दा अघि, न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा नेतृत्वसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

सर्वोच्चले अन्तरिम आदेशबारे हालसम्म कुनै निर्णय दिएको छैन। रास्वपाका संस्थापक महामन्त्री तथा प्रवक्ता समेत रहेका ढकाललाई २०८१ असार २६ गते पार्टीले ‘पार्टीहितविपरीत गतिविधि’ गरेको आरोप लगाउँदै पद तथा सदस्यताबाट हटाएको थियो। त्यसपछि उनले आफूलाई ‘रविको क्लब’ बाट निकालिएको टिप्पणी गरेका थिए।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार