काभ्रेमा एमाले संस्थापनविरुद्ध विद्या भण्डारी पक्षीय युवा संघको भेला



काभ्रेपलाञ्चोक । नेकपा एमालेको काभ्रे जिल्लामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभाव पहिलोपटक स्पष्ट रूपमा चुनौतीमा परेको छ। पार्टीको एघारौं जिल्ला अधिवेशनमा पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्या भण्डारी पक्षीय समूहले समान्तर कमिटी गठन गर्दै अधिवेशन सम्पन्न गरेको छ।

पार्टीको जिल्ला अधिवेशनदेखि नै कमजोर बन्दै गएको ओली पक्षलाई अनेरास्ववियु हुँदै युवा संघमा समेत भण्डारी समूहको एकलौटी देखिएको हो। बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज सागर रायमाझीको स्थगित गर्ने निर्देशनलाई नमानेर, भण्डारी पक्षले धुलिखेलका सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ। रमेश बुढाथोकी उपाध्यक्ष, अमन धिताल सचिव, राजेन्द्र लामा र सगुन थापा सहसचिव तथा शिवप्रसाद ढुंगेल कोषाध्यक्ष बनेका छन्। संगठन विभाग प्रमुखमा किरण तामाङ चयन भए।

भण्डारी पक्षको दाबी छ — १३ वटै पालिकाबाट प्रतिनिधित्वसहित १ सय ६४ जना सहभागी अधिवेशन विधिवत रूपमा सम्पन्न भएको हो। तर ओली पक्षीय युवा संघ उपाध्यक्ष रुपक रायमाझीले अधिवेशनलाई अवैधानिक भन्दै प्रतिनिधित्व र भौगोलिक सन्तुलन नभएको आरोप लगाए। उनका अनुसार केन्द्र र प्रदेश कमिटीको स्थगित गर्ने निर्णयको उल्लंघन गर्दै अधिवेशन गरिएको हो।

विवादका कारण नमोबुद्ध, रोशी, महाभारत, खानीखोला, बेथानचोक र तेमाल गाउँपालिकाबाट प्रतिनिधि चयन नै नभएको ओली पक्षको दाबी छ। पनौतीमा भने दुई पक्षले अलग-अलग प्रतिनिधि पठाएका थिए। अधिवेशन उद्घाटन जिल्ला अध्यक्ष राजन भुर्तेलले गरे। प्रमुख अतिथि केन्द्रीय अध्यक्ष क्षितिज थेबे र जिल्ला इञ्चार्ज गोकुल बास्कोटा भने अनुपस्थित रहे।

पार्टी केन्द्रले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरे पनि काभ्रे जिल्लामा नेताहरू स्पष्ट रूपमा दुई खेमामा विभाजित भएका छन्। जिल्ला अध्यक्ष भुर्तेल र बास्कोटा भण्डारी पक्षमा उभिएका छन् भने केन्द्रीय सदस्य रेशम लामा र पूर्वमन्त्री चन्द्र लामा ओली पक्षमा रहेका छन्।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार