आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा



काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकासहित देशभर धुमधामका साथ मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराइन्छ।

राजा प्रताप मल्लको पालादेखि सुरु भएको यो पर्वमा हास्य–व्यङ्ग्य र सामाजिक विकृतिप्रति प्रहसन प्रस्तुत गर्ने परम्परा छ। उपत्यकाका विभिन्न क्षेत्रमा नाचगान, झाँकी, तथा रामायणको करुण रसका गीत गाउने गरिन्छ।

यस दिन पत्रपत्रिकामा विशेष हास्य–व्यङ्ग्य अंक प्रकाशित हुने, कलाकारहरूले सामाजिक विसङ्गति उजागर गर्ने कार्यक्रम गर्ने चलन छ। काठमाडौं उपत्यकासँगै बनेपा, पनौती, पोखरा, धरानलगायत नेवार समुदाय बसोबास भएका सहरमा पनि विशेष रौनक देखिन्छ।

यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : २०८२ साउन २६ गते आइतवार