हेटौंडा, साउन १९ । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको हो।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा ६८ को उपधारा (२) अनुसार बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार दाबी पेश गर्न भोलि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ।
प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले मुख्यमन्त्री पदको लागि लिखित दाबी सहित समर्थन हस्ताक्षर बुझाउनु पर्नेछ।”
यसअघि मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो (साउन १८ गते) स्वकीय सचिवमार्फत राजीनामा बुझाएका थिए। राजीनामा पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको हो।
अबको २४ घण्टा बागमती प्रदेशको राजनीतिक गतिशीलताका लागि निर्णायक बन्नेछ, किनकि नयाँ मुख्यमन्त्री चयनका लागि शक्ति सन्तुलन र दलहरूबीचको सहमति मुख्य चुनौती बन्ने देखिन्छ।






