व्यक्तिगत घटना दर्तामा विवरण बिग्रिएमा एक पटक सच्याउन पाइने



काठमाडौं, साउन १८ । व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरणमा गल्ती भएमा अब एक पटकका लागि सच्याउन सकिने व्यवस्था गरिएको छ। सरकारले हालै केही नेपाल ऐन संशोधन गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गर्दै यस्तो प्रावधान ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार अब कुनै पनि व्यक्तिले आफ्नो विवरणमा त्रुटि भएको खण्डमा वडा कार्यालयमा निवेदन दिएर एक पटकका लागि सच्याउन सक्नेछन्। यसअघि भने बच्चाको मात्रै विवरण, त्यो पनि दर्ता भएको एक वर्षभित्रमात्रै सच्याउन पाइने व्यवस्था थियो।

संशोधित ऐनअनुसार विवरण सच्याउने व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय पञ्जिकाधिकारीले प्रमाण जाँच गरी विवरण सच्याउने प्रक्रिया अघि बढाउनेछन्।

साथै, यसरी सच्याइएको विवरणको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
सरकारको यो कदम नागरिकका अधिकार सुनिश्चित गर्ने र दर्ता प्रणालीलाई अझ व्यवस्थित बनाउने उद्देश्यले गरिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार