काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१० गोदामचौरमा ५५ लाख रुपैयाँ मूल्य बराबरको बुद्धचित्तको दाना चोरी भएको छ । इबकुमारी शाही केसीले लगाएको एकै रुखमा फलेका ५५ लाख रुपैयाँ मूल्य बराबरका बुद्धचित्तको दाना चोरी भएको हो ।
चोरीको आरोपमा एक नाबालकसहित ६ जनालाई मुद्दा चलाइएको छ । जसमा गोदामचौरकै अंकित बिष्ट, रमेश बिष्ट, गोदावरी–३ का दिलीप पुरी, उनका भाइ सुनिल पुरी, गोदावरी–१० खसिमार टोलका सनम तामाङ र एक नाबालक छन् ।
यो समूहले १४ असार राति १ बजेतिर बुद्धचित्तको दाना चोरी गरेको प्रहरीको भनाइ छ । सुरक्षाका लागि जडान गरिएको सीसी क्यामेराको तार समेत काटेर बुद्धचित्तको रुखबाट दाना चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
त्यसपछि उनीहरूलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरू विरुद्ध ५५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २४१ को चोरी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।





