एआई फोटो सम्पादन कार्यशाला सम्पन्न



काठमाडौं, ३ साउन २०८२ । काठमाडौँ फोटोग्राफर संघ (KPA) को आयोजनामा “Learn the Power of AI in Photo Editing” नामक एक दिने बृहत कार्यशाला राजधानीको बसुन्धरास्थित दियालो फुडल्याण्ड एण्ड ब्यान्क्वेटमा सम्पन्न भएको छ। कार्यशाला अत्यन्त उत्साहजनक र सफल भएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिष्ठित फोटोग्राफर, स्वतन्त्र पेशेवर (फ्रिलान्सर), स्टुडियो सञ्चालक तथा फोटोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले Adobe Certified Expert भारतका K. Ganesh बाट एआई-आधारित फोटो सम्पादनका आधुनिक प्रविधिबारे प्रत्यक्ष प्रशिक्षण लिने अवसर पाए।

कार्यशालामा Face enhancement, background replacement, cinematic color grading लगायतका विषयमा गहन व्याख्यान प्रस्तुत गरिएको थियो। सहभागीहरूले अल्प समयमै फोटो सम्पादनमा आश्चर्यजनक परिवर्तन ल्याउने तरिकाहरू प्रत्यक्ष अभ्यास गर्न पाए।

कार्यक्रमका प्रमुख वक्ता तथा प्रशिक्षक K. Ganesh ले फोटो सम्पादनमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगले कसरी कामलाई सहज र गुणस्तरीय बनाउन सकिन्छ भन्नेबारे विस्तृत जानकारी दिए।

संघका अध्यक्ष हरि प्रसाद घिमिरेले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै भने, “हाम्रो उद्देश्य नेपाली फोटोग्राफी व्यवसायमा नवीनतम प्रविधिको ज्ञान पु¥याउने हो। यस कार्यशालाले त्यो यात्रालाई अझ सशक्त बनाएको छ।” साथै, फोटोग्राफरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अभियानमा संघ प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रम संयोजक चन्द्रलाल राई थिए भने सञ्चालन संघका सचिव रेशमराजा पण्डितले गरेका थिए। कार्यशालामा सहभागीहरूले अत्यन्त सन्तुष्टि व्यक्त गरेका छन्। धेरैले फोटो सम्पादनलाई आफ्नो व्यवसायमा समावेश गर्ने योजना बनाएका छन् भने केही युवा फोटोग्राफरहरूले कार्यशालालाई आफ्नो करियरको ‘गेम चेन्जर’ अनुभव भनेका छन्।

काठमाडौँ फोटोग्राफर संघले यस्ता प्राविधिक कार्यशालाहरूलाई आगामी दिनमा नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रम Photo Concern को सहकार्यमा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२ साउन ५ गते आइतवार