अध्यागमन कर्मचारीको सेटिङमा म्यानपावर व्यवसायीसँग मिलेर भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरेको काण्डको छानविन गरिरहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) हिमालयकुमार श्रेष्ठको सरूवा केही घन्टामै रोकिएको छ। सामाजिक संजालमा चर्को आलोचना भएपछि सरुवा रोकिएको हो । अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धानलाई प्रभावित पार्ने गरी यसरी पूर्वसहमति विना सरुवा गरेको ठिक भएन भन्ने अख्तियार प्रमुखको आपत्तिपछि गृहमन्त्रीले निर्णय सच्याउनुभएको हो ।’
शुक्रबार दिउँसो साढे ३ बजेतिर नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा तीनवटा सूची प्रकाशन गरिएका थिए। ती सूची नेपाल प्रहरीको फेसबुक पेजमा पनि सेयर गरिएका थिए।
एआइजी सिद्धिबिक्रम शाहको कार्य विभाग नक्सालमा पदस्थापन भएकोबारे ७२८१ चलानी नम्बरको सूचना प्रकाशन भएको थियो। त्यसपछि चलानी नम्बर ७२८२ रहेको अर्को सूचनामा एक जना डिआइजीको मात्र सरूवा सूची निकालिएको थियो। त्यसमा अख्तियारस्थित प्रहरी महाशाखा प्रमुख रहेका हिमालयकुमार श्रेष्ठ थिए। उनलाई त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको थियो।
अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेको छ। अध्यागमन कर्मचारीको सेटिङमा म्यानपावर व्यवसायीसँग मिलेर भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरेको खुलेपछि अख्तियारले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो। अध्यागन प्रमुख रहेका तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा समेत लिएको थियो।
तर उनलाई केही बेरमै अख्तियारले छाडेको थियो। उनको मोबाइल लगायत कागजात भने नियन्त्रणमा लिएर अख्तियारले छानबिन गरिरहेको छ।





