महासंघमाथि खनिन थाले शिक्षक, रमेशबाबुको प्रश्न: अब कुन नैतिक बलले शिक्षकहरु सडकमा घिस्रने?



शिक्षा उपसमितिको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले फेरी आन्दोलनको धम्की दिएपछि शिक्षकहरु नै महासंघको नेतृत्व विरुद्ध खनिन थालेका छन् । सरकार–शिक्षकबीच भएको ९ बुँदेका कुनै पनि मुद्दा उपसमितिको प्रतिवेदनमा नसमेटिएपछि महासंघ हच्किएको छ भने शिक्षकहरु महासंघका नेतृत्वमाथि खनिन थालेका छन् ।

यसैबीच नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै अब कुन नैतिक बलले सडकमा घिस्रने भन्दै महासंघलाई प्रश्न गरेका छन् । उनले भनेः ‘जुन बेला सडक आन्दोलनभन्दा तार्किक लडाइँ र दबाब आवश्यक थियो, त्यही बेला २९ दिन सडक बास। बल्ल सडक जानुपर्ने बेला आएको छ, तर कुन नैतिक बलले सडकमा घिस्रने हो अब?’

उनले थपे, ‘२९ दिनको सडक आन्दोलन, महासंघको अहोरात्रको पक्षीकरण। के जितियो त? नारा त ठूला ठूला थिए– ‘हात हातमा ऐन’, ‘कि जितिन्छ कि बितिन्छ’ तर उपलब्धि शून्य।’ प्रतिवेदनको सन्दर्भमा उनले नेपाल शिक्षक महासंघप्रति स्पष्ट शब्दमा खबरदारी गरेका छन्, ‘अब नेतृत्वले आत्मसमीक्षा गर्नैपर्छ। संघर्षपछि पनि उपलब्धि शून्य छ भने आन्दोलनको तरिका र नेतृत्व दुवैप्रति विश्वास संकटमा पर्छ।’

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार