नार्कका निमित्त निर्देशक भन्छन्: कृषि अनुसन्धानमा राज्यको लगानी कम भयो



नेपालको कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको सरोकारवालाहरूले गुनासो गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् -नार्क को ३४औँ स्थापना दिवसको पूर्वसन्ध्या पारेर राष्ट्रिय माटो विज्ञान केन्द्र खुमलटारमा ललितपुरमा आयोजना गरिएको पत्रकार- वैज्ञानिक अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो गुनासो गरेका हुन् ।

नार्कका निमित्त कार्यकारी निर्देशक डा.दोजराज खनालले भविष्यमा पर्नसक्ने खाद्यान्न संकटलाई उत्पादनमा केन्द्रित गर्न राज्यले अनुसन्धानमा जोड दिनुपर्ने बताए । कार्यक्रममा नार्कले हालसालै विकसित गरेको प्रविधिबारे निर्देशक डा. भानुभक्त पोखरेलले प्रस्तुति दिएका थिए ।

उनले ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको र जीडीपीको २५ प्रतिशत कृषिमा आशृत भए पनि कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको बताए । ‘राष्ट्रिय नार्कमा ०.१९ प्रतिशत मात्रै राज्यको लगानी छ’, उनले भने । त्यस्तै राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले गत वर्ष नेपालको केरा उद्योगलाई वैज्ञानिकहरूले समयमै रोग चिनेर ध्वस्त हुनबाट बचाएको जानकारी गराउँदै राज्यले नार्कका वैज्ञानिक चिन्न नसकेको गुनासो गरे ।

उनले दरबन्दीको आधा प्रतिशत पनि कर्मचारी संख्या नभएको अवस्थामा नार्कले आफ्नो गतिविधिलाई चुस्त नै बनाएको बताए । कार्यक्रममा पत्रकारहरूले प्रकाशन प्रसारणलाई नयाँ मिडिया माध्यमको पनि प्रयोग गर्नुपर्ने, हरेक तीन महिनामा अन्तर्क्रिया छलफल गर्नुपर्ने र मिडिया व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान निर्देशक डा. राजेन्द्र दराई, राष्ट्रिय पशु विज्ञान अनुसन्धान निर्देशक डा. नीना अमात्य एवं महाशाखा प्रमुख र वैज्ञानिकहरूको समेत उपस्थिति थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको अवधारणा अनुरुप २५ वैशाख २०४८मा स्थापित स्वायत्त सरकारी संस्था हो ।

कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने र कृषिसम्बन्धि नीति तर्जुमाको लागि सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नार्कको स्थापना गरिएको हो ।
जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक-आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण र सेवा तथा परामर्श नार्कको कार्यक्षेत्र रहेको छ ।

हालको भौगोलिक तथा पारिस्थितिकीय विविधताको प्रतिनिधित्व हुने गरी नार्कले विभिन्न क्षेत्रमा अवस्थित ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्यक्रम संचालन गर्दै आएको छ । नार्कले कल सेन्टर ११३५ बाट किसानका जिज्ञासा समाधान गर्ने, ७५३ वटै पालिका तथा कृषिसंग सम्बन्धित निकायहरूमा कृषि मौसम सल्लाह बुलेटिन पठाउने पनि गरेको छ । ‘सबल कृषि अनुसन्धान: खाद्य सुरक्षा र समृद्धिको लागि वरदान’ भन्ने नाराका साथ बिहीबार स्थापना दिवस मनाउन लागिएको पनि नार्कले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार