काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र कम्पनीका अध्यक्ष संदीप कुमार मिश्रको सभापतित्वमा आइतबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्ती विकास गर्दा नागरिकहरुको लागि आयआर्जनको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । सिंहले भने । ‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ।’
उनले बस्ती विकास गर्दा स्थानीयको वातावरणलाई मध्यनजर गर्दै स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवास कम्पनीलाई विशेष महत्त्व दिएर प्राथमिकतामा राखेको पनि बताए।
सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दै त्यसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए ।
विगत पाँच वर्ष सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड घाटामा सञ्चालन भएको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा रु २६ लाख ८६ हजार खुद नाफा गरेको थियो भने आव २०७६/७७ मा रु दुई करोड ६५ लाख नोक्सान व्यहोरेको थियो ।
त्यस्तै आव २०७७/७८ मा रु ३० लाख ४५ हजार खुद नाफा कमाएको कम्पनीले आव २०७८/७९ मा रु चार करोड ३१ लाख नोक्सान व्यहोरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले आव २०७९/८० मा रु ८४ लाख आठ हजार नोक्सान व्यहोरेको थियो ।





