कारले हानेर भाँचियो ११ हजार भोल्टको पोल, तीन जना अस्पताल भर्ना



काठमाडौं । ललितपुरको सातदोबाटो-हात्तीवन सडक खण्डमा मापसे (मदिरा सेवन) गरेर चलाइएको कार ठोक्किँदा बिजुलीको पोल सडकको बीच भागमा पुगेको छ, जसका कारण सो क्षेत्रको सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

गएराति बा १५ च ७६५२ नम्बरको कार तीव्र गतिमा जाँदै गर्दा सडकछेउमा गाडिएको ११ हजार भोल्टको हाइटेन्सन लाइन टाँगिएको पोलमा ठोक्किँदा पोल भाँचिएर बीच सडकमा आइपरेको हो । कारमा सवार तीन जना घाइते भएका छन् र उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ललितपुर महानगरपालिकाको नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरू तथा ट्राफिक प्रहरीको टोली पुगेर पोल हटाउने प्रयास जारी राखिएको छ । नगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी अधिकारी सिताराम हाछेथुले यस्तो प्रकारको दुर्घटना आफूले पहिलो पटक देखेको बताए । ‘गाडी ठोक्किएर पोल बांगिएको देखेको थिएँ, तर सडक किनारमा गाडिएको पोल भाँचिएर बीच सडकमा आइपरेको दृश्य पहिलोपल्ट हो,’ उनले भने ।

प्रहरीका अनुसार, दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा मापसे गरेर कार चलाइएको पुष्टि भएको छ । घटनास्थलको प्रकृति हेर्दा कार तीव्र गतिमा रहेको अनुमान गरिएको छ । कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार