अध्यक्ष सुवेदी भन्छन्ः सत्तामा बस्ने थाक्लान्, तर शिक्षक आन्दोलनबाट भाग्दैनन्



नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनलाई बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन्।

विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौँमा जारी आन्दोलनको २७औँ दिन सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष सुवेदीले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरूले ढुंगामुढाको अवस्था सिर्जना गरेर प्रहरी दमन गराएको आरोप लगाए। उनले भने, ‘सत्तामा बस्नेहरू थाकेर भाग्न सक्छन्, तर आन्दोलनमा उत्रिएका शिक्षकहरू माग पूरा नभएसम्म आन्दोलनबाट भाग्दैनन्।’

उनका अनुसार शिक्षकहरूको २४ बुँदे मागमध्ये तत्काल कार्यान्वयन गर्न सकिने १६ बुँदाको कार्यसूची सरकारले तयार पारेको छ र त्यही आधिकारिक दस्ताबेज हो।

उनले भने, ‘कहिले पाँच बुँदे, कहिले सात बुँदे त कहिले नौ बुँदे सम्झौताको अफवाह फैलाइएको छ। तर हामीले नेपाल सरकारसँग २४ बुँदे कार्यसूची पेस गरेका छौँ। यही नै हाम्रो आधिकारिक दस्ताबेज हो।’

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार