आन्दोलन स्थगित हुँदैन निर्णायक मोडमा छौं, शिक्षक साथीहरु थपिँदै हुनुहुन्छः अध्यक्ष सुवेदी



काठमाडौं । सरकारले आन्दोलन बन्द गरेर विद्यालय फर्किन आग्रह गरेका बेला शिक्षक तथा कर्मचारीहरुले भने आन्दोलन थप चर्काउने तयारी गरेका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले ‘निर्णायक मोडमा’ आइपुगेको भन्दै थप शिक्षक तथा कर्मचारीहरुलाई काठमाडौं बोलाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अब हामी निर्णायक मोडमा आइपुगेका छौं । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।’

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । अध्यक्ष सुवेदी भन्छन्, ‘हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ ।’

महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटी संयोजक नानुमाया पराजुली पनि ऐन जारी हुने ग्यारेन्टी नभएको बताउँछिन् । ‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन । विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, उनले शंका व्यक्त गर्दै भनिन्, ‘सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । तर यो अधिवेशनमा पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । त्यसका लागि उनले आन्दोलनमा सक्रियता सहभागिताका लागि काठमाडौंमा केन्द्रित हुन आह्वान गरेका छन् । अध्यक्ष सुवेदीले भने, ‘आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । त्यसैले देशभरका सबै साथीहरु तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।’

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार