सरकारलाई शिक्षक महासंघको चेतावनीः ‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’



काठमाडौं । नेपाल शिक्षक महासंघ प्रदेश आन्दोलन परिचालन समिति बागमती प्रदेशले शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसकेको बताएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन परिचालन समितिले सो कुरा बताएको हो ।

‘विगत २० गतेदेखिको शैक्षिक आन्दोलनमा काठमाण्डौको सडकमा ५ लाख भन्दा धेरै शिक्षक तथा विद्यालय कर्मचारीहरु सहभागी भइसकेका छन् । चैतको गर्मी, घाम, अव्यवस्थित बसाइ र खानपान तथा काठमाण्डौंको वायुप्रदुषण लगायतका कारण सैयौ शिक्षक कर्मचारीहरु विरामी भइरहेका छन् । धेरै शिक्षक कर्मचारी बेखर्ची भइसकेका छन्। शिक्षक कर्मचारीहरुको मानसिक स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव परिरहेको छ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ, अब शिक्षक कर्मचारीहरुको धैर्यता र संयमको बाँध टुट्ने अवस्थामा पुगिसकेको छ। यस विषम परिस्थितिमा यो ऐतिहासिक शिक्षक तथा कर्मचारी आन्दोलनलाई दिलैदेखि समर्थन, सद्भाव र सहयोग गर्ने संघ, संस्था, नागरिक समाज, अभियन्ता, पत्रकार लगायत सबैमा हार्दिक धन्यवाद प्रकट गर्दछौं । साथै समस्या तत्काल समाधानका लागि पहल थाल्न नेपाल सरकार, राजनैतिक दल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सांसद लगायत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।’

‘शिक्षक र विद्यालय कर्मचारीहरुको आन्दोलनलाई थप सशक्त बनाउने क्रममा यहि चैत २५ गतेदेखि आम शैक्षिक हडतालको घोषणा भएको छ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सबै नेतृत्व गण, प्रधानाध्यापक र आम शिक्षक तथा विद्यालय कर्मचारीहरुमा अपिल गर्दछ, साथै यस आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै सहयोग गर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड, सम्पूर्ण शिक्षा विकास तथा समन्वय इकाई प्रमुखज्युहरु, स्थानीय तहका शिक्षा शाखा प्रमुखज्युहरु, तालिम केन्द्रका प्रमुखज्युहरु, निजी शिक्षण संस्था प्याब्सन,एनप्याब्सनका सञ्चालक एवं शिक्षक, कर्मचारी मित्रहरुमा हार्दिक अपिल गर्दछौं । शैक्षिक आम हड्तालका दौरान विद्यालय खोल्ने, एसईई लगायत कुनै पनि उत्तर पुस्तिका परिक्षण गर्ने, नतिजा प्रकाशन गर्ने, विद्यार्थी भर्ना गर्ने, कुनै पनि प्रकारका तालिमहरु संचालन गर्ने जस्ता कार्यहरु नगर्न नगराउन सम्बन्धित निकायलाई विनम्र अनुरोध गर्दछौ । हामी यस आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र प्राज्ञिक बनाउन चाहन्छौं । तर हाम्रा विनम्रतापूर्वकका आग्रहलाई अस्वीकार गरी आम शैक्षिक हड्ताल उल्लङ्घन गरिएका सूचनाहरु प्राप्त भइरहेकाले त्यस प्रकारका आन्दोलन विरोधी गतिविधिको सुक्ष्म अध्ययन गरी जानकारी प्रदेश समिति र महासंघको राष्ट्रिय समितिमा पेश गर्नुहुन अनुरोध गरिन्छ,’जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

निर्णायक आन्दोलनप्रति कुनै भ्रममा नपरी निशर्त सहभागी हुन सम्पूर्णमा आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार