काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।
महासंघले बुझायो शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणपत्र
शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिक्षक-कर्मचारी आफ्ना विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐनको खोजी गर्दै आन्दोलनमा आएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
‘अहिलेको अवस्थामा संसदको वर्षे अधिवेसन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्ने मध्ये एउटा विकल्पमार्फत् विद्यालय शिक्षा ऐन जारी हुन सक्छ । नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसमा प्रष्टता आवश्यक छ । साथै विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? यसको ठोस जवाफ महासंघले खोजेको छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने माग सहित २४ बुँदे सूची समेत मन्त्रालयमा बुझाइएको महासंघले जनाएको छ ।







