देशभरका शिक्षक काठमाडौंमा, आजदेखि अनिश्चितकालीन सडक आन्दोलन



काठमाडौं। आफ्न माग पूरा गराउन दबाब दिने उद्देश्यले देशभरका शिक्षकहरूले आज बुधबारदेखि काठमाडौंमा भेला हुने भएका छन्। सडक आन्दोलन गर्नका लागि उनीहरु भेला हुने भएका हुन्।

नेपाल शिक्षक महासंघको अगुवाईमा माघ २० गतेदेखि आन्दोलन भइरहेको छ। आजदेखि ‘काठमाडौँ जाऔँ’ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागिएको हो।

दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको महासंघले जनाएको छ। प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्ने जनाइएको छ।

महासघंका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए।

बिहीबारदेखि हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको उनको भनाइ छ।

आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए। काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताए।

सरकारले वार्ताका लागि आह्वान गरे पनि अध्यक्ष सुवेदीले अब वार्ताको कुनै औचित्य नभएकाले आन्दोलनलाई निरन्तरता दिइएको बताए।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार