काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले वास्ता नगर्दा वडा नम्बर २ र ३ का बासिन्दाले ढलको निकास नबन्दा ठूलो समस्या भोग्दै आएका छन् ।

ढल बने पनि निकास नहुँदा गर्मी महिनामा गन्हाउने र रोगव्याधी बढ्ने समस्या स्थानीयले भोग्नु परेको छ । निकास नहुँदा गर्मीमा ढलको फोहोर बस्तीमा पसेर दुर्गन्धित हुने गरेको छ । रोगव्याधी फैलने मौसम भएकाले ढललाई निकाससँग जोडेर समस्या समाधान गर्न स्थानीयले पटकपटक नगरपालिकालाई दवाव दिँदै आएका छन् ।
स्थानीयका अनुसार गर्मीमा ढलबाट फोहोर बाहिर निस्केर गन्हाउने र फोहोरबाट निस्केका किराले रोग बढाउने समस्या छ । राजधानीसँगै जोडिएको धनी नगरपालिकाका बासिन्दाले भने यस्तो समस्या भोग्दै आएको धेरै भइसकेको छ ।
गर्मी सुरू भएपछि ढलकै कारण दुर्गन्धले बस्तीमा बस्न नसक्ने अवस्था हुन्छ । ढलको निकास नहुँदा निकै मर्का परेको भन्दै मध्यपुर थिमी वडा नम्बर २ स्थित पाञ्चायन नगर सुधार समितिका अध्यक्ष दीपक मैनालीको नेतृत्वमा आइतबार नगरपालिकामा डेलिगेसन गएर ध्यानाकर्षण गराएको छ । ढलका कारण दुई सयभन्दा बढी घरधुरी प्रत्यक्ष समस्यामा परेको छ ।
मैनालीले हरेक वर्ष ढलको निकास बनाउनका लागि नगर प्रमुख समक्ष डेलिगेसन जाने गरे पनि सुनवाई नभएको बताए । ‘स्थानीय सरकारले नसुनेपछि कसलाई भन्ने ?’, मैनालीले भने, ‘नगरपालिकाबाट स्थानीय जनताको समस्या समाधान होस भनेर हामी निरन्तर धाइरहेका छौँ ।’
हरेक पटक डेलिगेसन जाँदा नगरपालिकाले स्थानीयको मागप्रति गम्भीर भएको आश्वासन दिने गरे पनि काम नभएको मैनालीको आरोप छ । डेलिगेसन टोलीसँग भेट गर्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर केसीले यस सन्दर्भमा नगर प्रमुखले समस्या समाधान छिटै हुने बताएको जानकारी गराए ।





