तिनकुने क्षतीको बिल ज्ञानेन्द्र शाहलाई तिराउने बालेनको निर्णय, निर्मल निवास पुग्दै महानगर प्रहरी



काठमाडौंँ- काठमाडौंँ महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा महानगरको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएका छन्। महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

त्यसका लागि पत्र लेख्ने काम भइरहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए।

दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को टोली पुगेको छ।

‘जरिवाना कसलाई तिराउने भनेर छलफल भयो, अहिलेसम्म निर्मल निवासमै पठाउने भन्नेमा पुगिएको छ,’ ती सदस्यले भने।

ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार