काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले आज भएको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका छन् । शिक्षकहरूले पेसागत माग राखेर फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै एसईईको समयमा शिक्षकहरूलाई आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल शिक्षक महासङ्घले २०८० साल असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि तत्कालीन सरकारले सम्झौता गरेको बताउँदै शिक्षकहरूसँगको सहमति अनुसार संशोधन समेत दर्ता गरेको जानकारी गराए । तर सरकारले उल्टै अध्यादेशभित्र पेन्सनसँग सम्बन्धीत विषय छिराएकोले शिक्षकहरू राजी नभएको समेत उनको भनाई थियो ।
उनले भने ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत वर्ष २०८० असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँमा संसारकै ध्यान केन्द्रीत गर्ने गरी आन्दोलन गर्नुभयो । तत्कालीन सरकारले वार्ता गर्यो, नेपाल शिक्षक महासङ्घसँग सुरुमा ६ बुँदे सम्झौता भयो । त्यसमा राहत शिक्षक, पेन्सन वञ्चित, बालविकास र साविक उच्च मावि लगायतका अस्थायी प्रकृतिका शिक्षकहरूले असहमति जनाएर आन्दोलन जारी राखेपछि फेरी १२ गते ५ बुँदे सम्झौता भयो ।’
सापकोटाले २०८० फागुन २४ गते नेपाल शिक्षक महासङ्घले पुन सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको उल्लेख गर्दै यसमा सरकारले बेलैमा ध्यान केन्द्रीत गर्न सभामुख मार्फत सरकार र संसदलाई ध्यानाकर्षण गराएका छन् । उनले अहिले एसईईको समयमा ध्यान केन्द्रीत गरेर पठनपाठन गराउनु पर्नेमा सरकारले नै शिक्षकलाई आन्दोलनकारी बनाएको बताए । शिक्षकलाई मर्यादित भएर आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।





